जेठ १७, २०७८ सोमबार

एजेन्सी । हालै सार्वजनिक भएको बालोन डी‘ओरको पावर र्‍याङ्किङमा युरोपियन च्याम्पियन्स लिग बिजेता चेल्सीका फ्रेन्च स्टार एनगोलो कान्टेले शीर्ष स्थानमा रहेका छन् ।

सन् २०२०/२१ को च्याम्पियन्स लिगको उपाधि चेल्सीले जित्दा उनी एक महत्त्पूर्ण खेलाडी बन्न सफल भएका छन् । ३० वर्षीय कान्टे च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनको पहिलो र दोस्रो लेगमै म्यान अफ द म्याचको अवार्ड पाए थिए ।

त्यस्तै शनिबार सम्पन्न च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा पनि उनले नै म्यान अफ द म्याचको अवार्ड पाए । 

यसले पनि कान्टे यस पटक बालोन डी‘ओरको प्रवल दाबेदारका रूपमा छन् । त्यसअघि सन् २०१९ को बालोन डी‘ओर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जिते । छौटौं पटक अवार्ड जित्दै अर्जेन्टिनी स्टार मेस्सी सर्वाधिक धेरै पटक बालोन डी‘ओर जित्ने खेलाडीसमेत बने । तर सन् २०२० को बालोन डी‘ओर अवार्ड कोरोना भाइरस महामारीका कारण स्थगित भयो । 

अब भने २०२१ मा भने बालोन ‘डी ओरको दौड चलिरहेको छ । जसमा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समावेश छन् । त्यस्तै सन् २०१७ को बालोन डी‘ओर पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले जितेका थिए । सो वर्ष एनगोलो कान्टे आठौँ स्थानमा थिए । तर यस सिजन भने उनी प्रवल दाबेदारका रूपमा छन् ।

यस्तो छ बालोन डी‘ओर टप–१० खेलाडीको सूची

१. एनगोलो कान्टे (चेल्सी)
२. किलियन एम्बाप्पे (पिएसजी)
३. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)
४. केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)
५. लियोनल मेस्सी (बार्सिलोना)
६. रुबेन डियाज (म्यानचेस्टर सिटी)
७. रोमलु लुकाकु (इन्टर मिलान)
८. करिम बेन्जेमा (रियल मड्रिड)
९. फिल फोडेन  (म्यानचेस्टर सिटी)
१०. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)