काठमाडौँ, १५ जेठ :हातमा साबेल, दायाँबायाँ र सडक किनारामा महिला तथा पुरुषहरुसँगै कोही बेल्चा समातिरहेका, कोही साबेल त कोही कोदालो, कोदाली समातिरहेका ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेवमन्दिरदेखि पाटी भञ्ज्याङ हुँदै नैचाल आशापुरीसम्मको सडकको सरसफाइ र सडक मर्मतमा सबैका लागि प्रेरणाको स्रोेत बन्दै साथ दिइरहेको देखिन्थे बागमती प्रदेशसभा सदस्य एवम् समाजसेवी किरण थापा ।
सोह्रौँँ गणतन्त्र दिवसको अवसरमा आज यहाँ आयोजना गरिएको बाटो मर्मत तथा सरसफाइ कार्यक्रममा प्रदेशसभा सदस्य थापासँगै नेकपा (एमाले)का अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालाई साथ दिइरहेका थिए, करिब चारसय जना स्थानीयवासीले ।
कार्यक्रमको उद्घाटन गर्दै थापाले भन्नुभयो, “जनआन्दोलनको उपलब्धि स्वरुप गणतन्त्र १६ वर्ष पुगेको छ, यो १६ वर्षमा देशले हरेक क्षेत्रको विकासमा फड्को मारेको छ, जनताले गरेको युग परिवर्तनसँगै गाउँगाउँमा सडक पुगेका छन्, उच्च शिक्षा र प्राविधिक विद्यालय पुगेका छन्, स्वास्थ्य सुविधासँगै अस्पतालहरु पुगेका छन्, रोजगारको वृद्धि भएको छ, यो गणतन्त्रको उपलब्धि हो ।”
गणतन्त्रलाई जोगाउँदै देश विकासमा कस्सिएर युवाहरु लाग्नुपर्ने बताउँदै उहाँले देशमा गणतन्त्रको उपलब्धिका रुपमा आएको तीन तहको सरकारले भौतिक तथा सामाजिक विकासमा टेवा पुगेको उहाँको भनाइ थियो । कार्यक्रममा सहभागी करिब चार सय जनाले यहाँको सडकको भत्किएका ठाउँको मर्मत गर्नाका साथै सडकपेटी सफाइ गर्ने, कुलो र पेटी छोपेको घाँस तथा झाडीहरु फाड्ने कार्य गरेका छन् ।
डोलेश्वर, आशापुरीदेखि बोकाचो गढीँसम्म स्वदेशी तथा भारतीय पर्यटकको आगमन अत्यधिक बढेको बताउँदै उहाँले सरसफाइलाई निरन्तरता दिँदै यहाँको पर्यटकीयस्थललाई अझै आकर्षक बनाइने वडाध्यक्ष बस्नेतले बताउनुभयो । यो क्षेत्रलाई धार्मिक पर्यटकका रुपमा विकास गर्दै लगेको र बोकाचो गढीलाई ऐतिहासिक क्षेत्रका रुपमा विकास गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको बताउनुभयो ।