भक्तपुर- दोश्रो लहरको कोभिड–१९ महामारी फैलिदै विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरु गरेको छ ।
प्याब्सन भक्तपुरले कोभिड सङ्क्रमित प्याब्सन आबद्ध प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारीका लागि ‘कोभिड राहत कोष’ स्थापना गरि प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अभियानको भर्चुअल उद्घाटन गर्नु भयो ।
प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा कोषाध्यक्ष डिल्लीराज जोशी सदस्य–सचिव तथा उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, प्याब्सन भक्तपुर नगरध्यक्ष रमेशचन्द्र श्रेष्ठ, मध्यपुरथिमि नगरध्यक्ष निलेश आचार्य, सूर्यविनायक नगरध्यक्ष सानुराजा कार्की, चाँगुनारायण नगरध्यक्ष राममणि न्यौपाने, प्याब्सन भक्तपुर नगर कोषाध्यक्ष शिवकुमार कोजु, मध्यपुरथिमि नगर कोषाध्यक्ष सुमन बस्नेत, सूर्यविनायक नगर कोषाध्यक्ष भोला चौधरी, चाँगुनारायण नगर सदस्य राजेश दाहाल सदस्य रहेको प्याब्सन कोभिड राहत कोष गठन गरेको छ ।
अभियान अन्तर्गत प्याब्सन भक्तपुरले पहिलो चरणमा अस्पतालमा आइसियू, भेन्टिलेटर र अन्य शय्यामा उपचाररत आफ्ना सदस्य विद्यालयका संस्थापक प्रिन्सिपल, शिक्षक, कर्मचारीलाई आर्थिक सहयोग गरेको प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शय्या अभावमा अस्पतालमा शय्या खोजी, अक्सिजन, प्याज्मा, औषधि, एम्बुलेन्सको व्यबस्थापन गर्दै आएको छ ।
जिल्ला प्याब्सन भक्तपुर अन्तर्गत सदस्य विद्यालयका १२३ जना प्रिसिन्पल, शिक्षक, कर्मचारीलाई कोभिड सङ्क्रमण भएर अस्पताल र होमआइसोलेसनमा उपचार गराइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा रहेका मध्ये केहीको अबस्था जटिल रहेपछि कोष स्थापना गरेको हो ।
प्याब्सनले दोश्रो चरण अन्तर्गत होम आइसोलेसनमा रहेर स्वास्थ्यलाभ गराई रहनु भएका विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारी लगायतलाई ‘घरघर स्वास्थ्य सेवा’ सञ्चालनमा ल्याएको छ । घरमै बसेर सङ्क्रमणसंग जुधिरहेकाहरुका लागि प्याब्सनले दोश्रो चरणको अभियान अन्तर्गत घरमानै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको हो । नौलो ज्योति स्कुलका प्रिन्सिपल शिवकृष्ण श्रेष्ठले १० वटा अक्सिजन सिलिण्डर बराबर रु। एक लाख ४० हजार रुपैयाँसंगै विभिन्न विद्यालयका प्रिन्सिपलहरुको थप सहयोगबाट अभियान सञ्चालनमा आएको छ ।
प्याब्सन भक्तपुरको खर्चमा सङक्रमितको घरघरमै गएर निःशुल्क रुपमा स्वाब संकलण, रगत संकलन एवं परीक्षण, अक्सिजनको व्यबस्था, आवश्यकता अनुसार डाक्टर, नर्ससहितको चिकित्सकीय सेवा, टेलिफोनबाट चिकित्सकीय परामर्श, एम्बुलेन्स, आवश्यक औषधि उपलब्ध गराउने सेवा शुरु भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
तत्कालका लागि प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारीहरुका लागि सञ्चालन गरेको भए पनि अब आमनागरिकका लागि सञ्चालन गरिने भएको छ । प्याब्सन भक्तपुरले लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स, केन्द्रीय प्याब्सन, भक्तपुर हार्ट एण्ड डाइबिटिज सेन्टर, भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर लायन्स सेवा समन्वय समितिलगायतका संस्थासँगको सहकार्यमा अभिभावक, विद्यार्थी र आमनागरिकलाई पनि ‘घरघर स्वास्थ्य सेवा’ अभियान सञ्चालन गर्ने भएको प्याब्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष एवं राहत कोषका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिड महामारीबाट सङ्क्रमणमा परेका प्याब्सन सदस्यहरुलाई स्वास्थ्य जोखिमबाट मुक्त गर्न अभियान सुरु भए पनि प्याब्सन अब आमनागरिकमा पनि यो अभियान लिएर जाने भएको उहाँले बताउनुभयो ।