काठमान्डौ।
नेपाली महिला फुटबल टिमका लागि हिजो मात्र नियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमलाई एएफसी एसियन कप खेल्ने अवसर रहेको बताएका छन् ।
मुख्य प्रशिक्षकमा नियुक्त भएपछि एन्फा टिभी ्सँग कुराकानी गर्दै उनले भने, ‘मैले आफ्नो जिम्मेबारीलाई गम्भीर रूपमा लिएको छु र म यसका लागि निकै उत्साहित थिएँ । हामीसँग नेपाली महिला फुटबलको विकास गर्न ठूलो अवसर छ, हामीसँग एसियन कपमा छनोट हुने अवसर पनि छ ।’
‘महिला खेलाडीहरूले नेपालको राम्रो प्रतिनिधित्व गरिरहेका छन् । नेपालमा भर्खरै महिला लिग सकिएको छ । यसले युवा प्रतिभालाई जन्माएको छ यसले म झन् उत्साहित र आशावादी छु’, फिलिप्सले थपे ।
आगामी वर्ष भारतमा हुने एसियन कपमा १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजकको हैसियतले भारत र सन् २०१८ को संस्करणमा शीर्ष ३ मा रहेका जापान, अस्ट्रेलिया र चीन सिधै छनोट भइसकेका छन् ।
बाँकी ८ स्थानका लागि सन् २०२१ को सेप्टेम्बर १३ देखि २५ सम्म छनोट चरणका खेलहरू हुनेछन् ।
प्रशिक्षक फिलिप्सले छनोटका लागि नेपाल योजनाबद्ध ढंगले अगाडि बढ्ने बताए । ‘हामी राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरेर अर्को महिनादेखि नै प्रशिक्षण थाल्ने छौं । उनीहरूलाई माथिल्लो स्तरका लागि तयार गर्ने छौं ।’
प्रशिक्षण फरक ढंगले सञ्चालन गरिने फिलिप्सले बताए ‘यसपटकको प्रशिक्षण केही फरक रहनेछ । हरेक महिना प्रशिक्षण हुने त्यसमा उत्कृष्ट युवा खेलाडीलाई प्राथमिकतामा राखिने छ र राम्रो प्रदर्शन गर्नेलाई अन्तिम २३ मा समावेश गरिनेछ ।’
‘नेपाली महिला फुटबलको भविष्य राम्रो छ र ग्रास रुटदेखि नै विकास गर्न आवश्यक छ’, फिलिप्सले बताए, ‘त्यसका लागि हामी प्रत्येक प्रदेशका खेलाडीलाई हेर्ने छौं र उनीहरूको प्रतिभा हेरेर टिममा अवसर दिने छौं ।’
उनले एसियामा नेपाली महिला टिम उत्कृष्ट भएको बताउँदै अब वरीयतामा सुधार गर्दै कम्तीमा पनि एसियाको शीर्ष १५ भित्र पर्ने प्रयास गर्ने जानकारी दिए ।
टिमकी प्रमुख खेलाडी सावित्रा भण्डारी (साम्बा) घाइते हुनु नेपालका लागि निकै घाटा भएको फिलिप्सले बताए ‘साम्बा नेपालका लागि निकै महत्त्वपूर्ण खेलाडी हुन्, उनी घाइते हुँदा म दुःखी छु । सम्बा निकै उत्कृष्ट छिन् र उनी अस्ट्रेलियन डब्ल्यू लिग लगायत विश्वको अन्य उत्कृष्ट लिगहरू खेल्ने सम्भावना बोकेकी खेलाडी हुन् । उनको उपचार राम्रोसँग हुनेछ र उनी चाँडै नै मैदानमा फर्किएको हेर्ने मेरो इच्छा छ ।’
सन् २०१९ देखि प्रविधिक निर्देशकका रूपमा कार्यरत अस्ट्रेलियाका फिलिप्सलाई एन्फाले बिहीबार महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनी सन् २०२३ को डिसेम्बरसम्म मुख्य प्रशिक्षकका रूपमा रहनेछन् ।