एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लबद्वय चेल्सी र लेष्टर सिटीलाई फुटबल एसोसियसन एफएले जरिवाना गरेको छ । प्रिमियर लिगअन्तर्गत गत मे महिनामा भएको खेलमा मैदानमै दुवै टोलीबीच हात हालाहाल भएको थियो ।
चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले २–१ गोलको जित दर्ता गरेको थियो । सो खेलको इन्ज्युरी समयमा भएको घम्साघम्सीको विषयमा अनुसन्धान गरेपछि बुधबार एफएले दुवै टोलीलाई २२ हजार ५०० सय युरो जरिवाना सुनाएको हो ।
मैदानमा अभद्र व्यवहार देखाएको भन्दै एफएले भनेको छ, ‘चेल्सी र लेइस्टरलाई २२ हजार पाँच सय युरो जरिवाना गर्ने निर्णय गरिएको छ । उक्त खेलमा जित निकाल्दै चेल्सी आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको थियो भने लेष्टर असफल बनेको थियो ।