जेठ २२, २०८० सोमबार

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् ।

राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै त्यसतर्फ गइसकेको छ । बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी असार २९ गतेसम्मलाई सरेपछि उनी आज प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

लामिछानेका कानुन व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । 

नेपालले जेठ २५ गते स्कटल्यान्ड र जेठ २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ ।