जेठ २३, २०८० मंगलबार

विराटनगर, २३ जेठ (रासस) : नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो । 

आज बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पुूर्वाधार विकास मन्त्री दुर्गाप्रुसाद चापागार्इंले राजीनामा दिनुभएको हो । 

आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भएपनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताउनुभयो । 

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न  आह्वान गरेपनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई वेवास्ता गरेको आरोप लगाउनुभयो । “सरकारले पहिचानवादीको आन्दोलन र मागलाई वेवास्ता गरेको छ, सम्मान गरेको छैन”, उहाँले भन्नुभयो ।