जेठ २३, २०८० मंगलबार

दिपायल, २३ जेठ: पछिल्लो समय  धार्मिक तथा पर्यटकीय क्षेत्रको चर्चा भइरहे पनि स्थानीय सरकार र अन्य निकायले ध्यान नदिँदा  डोटीका धार्मिक तथा पर्यटकीय स्थल संरक्षणको पर्खाइमा रहेका छन् ।

    जिल्लामा रहेका प्राचीन मठमन्दिर अर्थात् देवस्थल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । ऐतिहासिक मठ, मन्दिर, देवस्थल संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमा परेका हुन् । प्रचारप्रसारको अभावमा बडीकेदार–५ स्थित मेलघटी देवस्थल ओझेलमा परेको स्थानीयवासीले बताएका छन् ।  

    मेलघटी देवस्थल संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घ हुँदै पुरातत्व विभाग लगायतले कुनै सहयोग नगर्दा मर्मत गर्न नसकेको स्थानीय देवबहादुर मल्लले बताउनुभयो । तेह्रौँ शताब्दीमा  निर्माण गरिएका देवस्थल संरक्षणको अभावमा मासिने खतरा बढेको छ । उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

    धार्मिक तथा पर्यटकीय क्षेत्र मेलभटी देवस्थल ओझेल परेपछि यसको मौलिकता र महत्व पनि हराउने खतरामा पुगेको स्थानीयवासीको चिन्ता छ । सदरमुकाम सिलगढीबाट त्यस क्षेत्रमा पुग्नका लागि सहज पहुँच मार्ग नहुन र देवस्थल क्षेत्रको पुनर्निर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण देवस्थल क्षेत्र ओझेलमा परेको मल्ल बताउनुहुन्छ । 

    धार्मिक तथा पर्यटकीय देवस्थलको  खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने  स्थानीय शिक्षक भरत चन्दले बताउनुभयो । देवस्थलका लागि  स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायहरुको बेवास्ता गरेका  कारण ओझेलमा परेको उहाँले बताउनुभयो ।   
 
    देवस्थलमा सडक पहुँच र अन्य आवश्यक पूर्वाधार निर्माण नहुँदा महत्वहीन जस्तै बनेको उक्त देवस्थल क्षेत्रको संरक्षण र प्रचारप्रचारमा लगानी गरी जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य देवस्थल बनाउन लागिपर्नुभएका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनुभयो ।  पछिल्लो समय यस मेलघटी देवस्थलमा हुनुपर्ने विकास तथा पूर्वाधारका काम हुन सकेको छैन । अब पालिकाको पहलमा प्रदेश सरकार, सङ्घीय सरकारसँग पहल गरी मेलघटी देवस्थलको विकास गरिने उहाँको भनाइ छ ।