इंग्ल्याण्डविरुद्धको जारी टेस्ट क्रिकेटमा डेव्यु गरेका डेभोन कोनवेले दोहोरो शतकको बनाएका छन् ।ओपनिङ आएका कोनवे २०० रनमा रनआउट भएपछि न्यूजिल्याण्डको दशौं विकेट पनि पतन भएको थियो । उनको २०० रनको मद्दतले न्यूजिल्याण्डले पहिलो पारिमा ३७८ रन बनायो ।
उनी डेब्यु टेस्ट क्रिकेटमै दोहोरो शतक बनाउने विश्वका सातौं खेलाडी भएका छन् ।डेब्यु टेस्टमै सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा टीप फोस्टरको नाम आउँछ । इंग्ल्याण्डका उनले १९०३ सालमा अस्ट्रेलिया विरुद्ध डेब्यु गर्दा २८७ रन बनाएका थिए ।
दोस्रो स्थानमा वेस्टइन्डिजका लरेन्स जर्ज रोय रहेका छन् । उनले १९७२ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गर्दा २१४ रन बनाएका थिए । डेब्युमै दोहोरो शतक बनाउने तेस्रो खेलाडी हुन् बे्रन्डन कुरुप्पु रहेका छन् । श्रीलंकाका कुरुप्पुले १९८७ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गर्दा २०१ रन नटआउट बनाएका थिए ।यसैगरी म्याथ्यु सिन्क्लेयर डेब्यु टेस्टमै दोहोरो शतक बनाउने चौथो खेलाडी हुन् । न्यूजिल्याण्डका सिन्क्लेयरले वेस्टइन्डिजविरुद्ध १९९९ मा डेब्यु गर्दा २१४ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका ज्याकस रुडोल्फले डेब्यु टेस्टमै दोहोरो शतक बनाउने रेकर्ड बनाएका थिए । उनले बंगलादेशविरुद्ध २००३ मा डेब्यु गर्दा २२२ रनको पारि खेल्दै यो रेकर्ड बनाएका थिए । उनी विश्व क्रिकेटमा डेब्यु टेस्टमै दोहोरो शतक बनाउने पाँचौं खेलाडी बनेका थिए ।
केइल मेयर डेब्यु टेस्टमै दोहोरो शतक बनाउने छैटौं खेलाडी हुन् । वेस्टइन्डिजका मेयरले २०२१ को फेब्रुअरी ३ तारिखमा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले २१० रन नटआउटको पारि खेल्दै रेकर्ड बनाएका थिए ।
सातौं खेलाडीको रुपमा डेभोन कोनवेले यो रेकर्ड बनाएका छन् । विश्व क्रिकेटमा डेब्युमै दोहारो शतक बनाउने सूचीमा कोनवे सातौ स्थानमा रहे पनि न्यूजिल्याण्डबाट दोहोरो शतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।