जेठ २०, २०७८ बिहिबार

काठमाडौं । नेपालले आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्व कप तथा चीनमा आयोजना हुने एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार आज दोस्रो लेग खेलमा चाइनिज ताइपेईलाई पराजित गरेको छ । 

कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले १/१ गोल गरे ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । 

त्यस्तै दोस्रो हाफको खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए ।

उक्त जितसँगै छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।