सरकारले हालै गरेका राजनीतिक र आर्थिक निर्णयहरू प्रति मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले आपत्ति जनाएको छ ।
चुरे क्षेत्रबाट बालुवा, गिट्टी र ढुङ्गा निकासी गर्ने तथा नागरिकता विधेयक जस्ता विषयमा सरकारले अदूरदर्शी निर्णय गरेकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको शुक्रबार जारी विज्ञप्तिमार्फत जनाइएको छ ।
पार्टीकी प्रदेश सचिव सावित्री गिरीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ- "संसद्मा विचाराधीन नागरिकता विधेयकजस्तो संवेदनशील विषयलाई सत्ताको लेनदेनका लागि रातारात अध्यादेशमार्फत ल्याइनु, जनताले व्यापक विरोध गरिरहेको एमसीसी परियोजनालाई चोर बाटाबाट बजेटमा प्रवेश गराउनु र व्यापार घाटा कम गराउने नाममा चुरे-भावर क्षेत्रको दोहन गरेर भारततर्फ निर्यात खुल्ला गर्नेजस्ता गतिविधिले आम जनताको विचारलाई सरकारले लत्याएर पराई शक्तिलाई रिझाउन लागिपरेको प्रष्ट भएको छ ।"
नागरिकता जस्तो राष्ट्रको अस्तित्वसँग जोडिएको विषयमा गम्भीर राष्ट्रिय बहस गरेर कडा व्यक्तिगत पात्रता परीक्षणपश्चात् मात्रै नागरिकता प्रदान गर्ने "राष्ट्रिय नागरिकता नीति" बनाइनुपर्ने समेत पार्टीको प्रदेश कमिटीले माग गरेको छ ।
यस्तै संसद् नभएका बेला रातारात सत्ताको लेनदेनका लागि विधेयक ल्याइनु ठूलो राष्ट्रघात भएको पार्टीले ठहर गरेको छ । "एकातिर चुरे संरक्षणका लागि शक्तिशाली संरचना अस्तित्वमा रहेको र अर्कातिर चुरेको ढुङ्गा, बालुवा र गिट्टी भारत निकासी गरेर व्यापार घटाउने योजना अदूरदर्शी र दीर्घकालमा नेपालका लागि घातक हुने निर्णय हो ।"
उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रकृतिको विनाश नगरेरै प्राकृतिक स्रोत साधनको समुचित प्रयोग हुनुपर्ने पार्टीको मान्यता रहेको समेत उक्त विज्ञप्तिमा उल्लेख छ । यसैगरी व्यापार घाटा कम गर्ने नाममा प्रकृतिको दोहन हुने किसिमको निर्णयलाई सरकारले यथाशीघ्र परिवर्तन गर्नुपर्ने पार्टीले माग अघि सारेको छ ।
