प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलास पुनर्गठन गरेको छ ।
संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू- दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहने छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । ती रिटमा गत १३ गतेदेखि सुरु भएको प्रारम्भिक सुनुवाइ मंगलबारदेखि स्थगित छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा राखेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरूले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।
त्यस विवादमा न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछाड्ने निर्णय लिएपछि संवैधानिक इजलासबाट वरिष्ठतम् न्यायाधीश दीपककुमार श्रेष्ठ र न्यायाधीश डा. आनन्दमोहन भट्टराईले इजलास छाड्ने निर्णय लिएका थिए । सोही कारण इजलास पुनर्गठन गर्नुपरेको हो ।