एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लाइपजिगले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै बोरुसिया मन्छेनग्लाडबाखमाथि ३-२ गोलको जित निकालेको हो ।
कुनै समय लाइपजिग २-० गोलले पछि परेको अवस्था उल्ट्याउदै ३-२ गोलको रोमाञ्चक जित निकालेको हो । पाहुना टोली मन्छेनग्लाडबाखले जारी खेलको छैटौं मिनेटमा जोनास होफ्म्यानको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो ।
खेलको १९ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफमा २-० गोलले पछि परेको जाइपजिगले खेलको ५७ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।
त्यस्तै खेलको ६६ औं मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै लाइपजिगलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा एलेक्जेन्डर सोएर्लोथले गोल गर्दै लाइपजिगलाई ३-२ को जित दिलाए ।
उक्त जितसँगै लाइपजिगले शीर्ष स्थानको बायर्नविरुद्ध दबाब कायम राखेको छ । उसले कुल २३ खेलमा ५० अंक जोडेको छ ।
दोस्रो स्थानको लाइपजिग बायर्न भन्दा २ अंकले पछि रहेको छ । यता पराजित मन्छेनग्लाडबाख ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।