लुम्बिनी, ५ साउन (रासस) :बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो ।
यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले ४१ फिट चौडाइको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने तथा मुख्य सडकको चाप कम गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले अस्पताल र कालिका मन्दिरको क्षेत्रमा आवश्यक पर्खाल उपमहानगरपालिकाले लगाउने गरी सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताउनुभयो ।
“कालिका पथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ”, उहाँले भन्नुभयो, “यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ ।” सो क्षेत्रमा डोजर लगाएर उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयवासीले खुसी प्रकट गरेका छन् ।