जेठ २४, २०७८ सोमबार

 नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकार बढ्दो दरमा कोरोना संक्रमणमा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर दिनदिनै बढेको बताए।

देशैभरीमा अहिलेसम्म ९५० जना पत्रकार संक्रमित भइसकेको बताए। यसरी संक्रमित भएकामध्ये १९ जनाले ज्यान गुमाइसकेको महासचिव पुरीले बताए। हाल २०० जनाभन्दा बढी सक्रिय संक्रमित पत्रकारहरु रहेको पनि महासचिव पुरीले जानकारी दिए।

पत्रकार महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुले स्वास्थ्य मापदण्डलाई अपनाउन पनि आग्रह गरेको छ। कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ।

महासंघले जिल्ला शाखाबाट पनि समन्वय र सहयोग गर्ने भन्दै महासंघको सूचनाको सञ्जालमा आउन आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताए। महासंघमा उजुरी परेका ५० जना पत्रकारहरुमध्ये २९ जनाको समस्या समाधान भएको उनले बताए।

पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले गर्न नसक्ने भएकोले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको पनि उनको भनाइ छ। सरकारले पत्रकार र श्रमसँग जोडिएको कानूनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान छिटो हुने महासचिव पुरीले बताए।