भारतमा कोरोनाभाइरसको संक्रमण दिनदिनै घट्दै गइरहेको छ। अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले आक्रान्त भएको भारतमा पछिल्लो समय दैनिक संक्रमितसँगै मृत्युदर पनि ओह्रालो लागेको छ।
६८ दिनपछि सोमबार भारतमा पहिलो पटक १ लाखभन्दा कम संक्रमित थपिएका हुन्। टाइम्स अफ इन्डियाका अनुसार सोमबार ८६ हजार १ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। यो गत अप्रिल १ यता दैनिक थपिएका संक्रमितहरूमा सबैभन्दा कम संख्या हो।
मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो। यस्तै सोमबार दैनिक मृत्यु पनि दुई हजारभन्दा मुनि झरेको छ। सोमबार भारतभरि १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ। यो अप्रिल १९पछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ हजारभन्दा माथि थियो।