जेठ २५, २०७८ मंगलबार

सोमबार प्रधानन्यायाशी चालेन्द्र शमशेर राणा अस्वस्थ्य भएको भन्दै स्थगित गरिएको संवैधानिक इजलास मंगलबार पनि राखिएन। दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्ध परेको ३० वटा रिट निवेदनको सुनुवाइका लागि दुईपटक गठन भएको संवैधानिक इजलास विवादमा परेपछि पेशी नै तोकिन छाडेको हो।

पहिलो पटक जेठ १४ गते गठन भएको इजालमामा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठप्रति १४६ जना सांसदका वकिलले प्रश्न उठाएका थिए भने आइतबार गठन भएको इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईको उपस्थितिप्रति सरकारी पक्षले प्रश्न उठाएका छन्।

कार्की र भट्टराईका बारेमा आइतबार बहस भएर सोमबार (हिजो) इजलासमा रहने कि नरहने भन्ने निर्णय हुनुपर्ने भए पनि प्रधानन्यायाधीश अस्वस्थ्य भएपछि इजलास बस्न नसकेको सर्वोच्चले जनाएको छ। स्रोतका अनुसार कार्की र भट्टराईले सरकारी पक्षले भने झै इजालस छाड्ने संभावना कम रहेको छ।

मंगलबारका हकमा भने सोमबार नै बुधबारका लागि पेशी राखिएको सवोच्चले स्रोतले बतायो। तर उक्त कुरा सर्वोच्चको अनलाइन पेशी सूचिमा चढाइएको छैन।