काठमाण्डौ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको बागमती प्रदेशस्तरीय भेला आईतबार नुवाकोटको सदरमुकाम बिदुरमा हुने भएको छ । भेलाको काँग्रेस उपसभापति बिमलेन्द्र निधिले सदरमुकाम बिदुरस्थित बिपी स्मृती भवनमा उद्घाटन गर्ने कार्यक्रम तय भएको युनियनका नुवाकोट अध्यक्ष नवराज सुवेदीले जानकारी दिएका छन् । भेलामा काँग्रेस नेताहरु अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत, बहादुरसिंह लामा, मोहन आचार्य, खिलानाथ दहाल, जगदीश्वरनरसिंह केसी तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्द्येलसहित केन्द्रीय नेताहरुको उपस्थिती रहने बताईएको छ ।
पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस युनियनले अपनाउने रणनीतिका सन्दर्भमा आयोजित भेलामा बागमती अञ्चलका उपत्यका बाहेक १० जिल्लाका प्रतिनिधिहरु तथा केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहने छ । भेलाले महासंघको आगामी निर्वाचनमा उमेदवारी तय गर्ने सन्दर्भमा समेत आवश्यक छलफल गर्ने बताईएको छ ।