जेठ २६, २०७८ बुधबार

सर्वोच्चको संवैधानिक इजलासमा लगातार दुई दिनसम्म स्थगित भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेका छन् ।

रिट निवेदक पक्षका वकिलहरूले बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई यस इजलासमा राख्न नमिल्ने माग गरेपछि प्रधानन्यायाधीशले उनीहरूलाई इजलासमा नराखेर खड्का र खतिवडालाई समावेश गरेर दोस्रो पटक इजलास गठन गरेका हुन् ।

यसअघि जेठ १४ गते प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहित आफ्नो नेतृत्वमा इजलास गठन गरेका थिए । तर आइतबार गठन भएको नयाँ इजलासमा रहेका न्यायाधीशहरूबारे सरकारी वकिलले पनि प्रश्न उठाएका छन् ।

प्रधानन्यायाधीश जबराले गठन गरेको इजलासमा रहेका न्यायाधीशबारे विवाद भएसँगै अहिलेसम्म विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेकोे छैन ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्चमा ३० वटा रिट निवेदन दर्ता भएका छन् ।