जेठ २६, २०७८ बुधबार

कञ्चनपुरको महाकाली नदीपारी पर्ने दोधारा चाँदनी नगरपालिकामा भारतीय एसएसबीले नेपाली किसानलाई धम्की दिएका छन् । पोहोर साल आफ्नै जमीनमा खेती गरेका किसानलाई यसपालि खेती गर्न नदिएर एसएसबीले ती किसानलाई धम्कीपूर्ण भाषामा भनेका छन् - "जब ये खेतमे आयेगा उसी वक्त उठालेङ्गे, इसका नाम नोट करोू ।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले दुःख दिँदै आइरहेको छ ।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका अधिकारी परिवारले खेती गर्ने समयमा एसएसबी खेतमा नै आएर रोक्दै दुःख दिने गरेको छ । उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेक साल दुःख दिने गरेको अधिकारीले बताए ।

यसरी नेपाली सिमानाकामा दादागिरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमानाकामा दादागिरी देखाउनुभन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्ने जवाफ दिएका थिए । तर एसएसबीले उल्टै नेपालीलाई खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन् । भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाई धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएको छ । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् ।

भारतीय पक्षले उक्त जमिन ‘नो मेन्स लेण्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आइरहेको छ । 

सीमानामा यो नौलो घटना भने होइन । यस्ता घटना पटकपटक हुँदै आइरहेका छन् । केही दिनअघि मात्रै भारतीय पक्षले हुलाकी राजमार्गको काममा समेत अवरोध गरेको समाचार प्रकाशित भएको थियो ।