जेठ २७, २०७८ बिहिबार

आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यस वर्षको पहिलो सूर्यग्रहण हो ।

नेपाली समयअनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनै पनि ठाउँबाट नदेखिने ढुङ्गेलले जानकारी दिए ।

ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ ।

सामान्यतस् यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएका कारणले हुन्छ र केही समयका लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।