उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरूले गोली प्रहार गरी हत्या गरेका छन् । बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको जनाइएको छ ।
घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । अफगानी अधिकारीहरूले तालिवानीलाई आरोप लगाए पनि इस्लामिक स्टेट ९आइएस० ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।
अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरू फेरि बढ्न थालेका छन् ।
अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरू बढ्न थालेपछि सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
बन्दुकधारीले स्थानीय अल्पसङ्ख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसङ्ख्यक समुदाय हो । हालैका वर्षहरूमा उनीहरूले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।