इथियोपियाको युद्धग्रस्त टिग्रे क्षेत्रमा करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ र सहायता समूहहरूको अध्ययनका आधारमा त्यहाँ अनिकालबाट ३ लाख ४३ हजार जनसङ्ख्या सङ्कटमा रहेको जनाइएको छ । संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले ‘टिग्रेमा अहिले अनिकाल छ’ भनेका छन् ।
बालबालिकाको क्षेत्रमा कार्यरत् संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासको जस्तो स्थिति आइलागेको छ र यसको कारण ठूलो सङ्ख्या (खासगरी बालबालिका) भोकमरीको चपेटामा पर्न सक्छन् ।
युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्याउन अपीलसमेत गरेको छ । यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनका आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ ।
सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्र जर्जर अवस्थामा छ । सन् २०२० को नोभेम्बर महिनादेखि जारी संघर्षबाट सो क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेको बीबीसीले जनाएको छ ।