भदौ २८, २०८० बिहिबार

गोदावरी (ललितपुर), २८ भदौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताउनुभएको छ ।

गोदावरी नगरपालिका–३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उहाँले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गर्नुभयो ।

“गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ हो”, मन्त्री किरातीले भन्नुभयो, “जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।” यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री किरातीले पछिल्लो समय डेङ्गु डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नं ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यावसायिक र प्रहरीको सहभागिता थियो ।