टोकियो, २८ असोज : जापानकी प्रधानमन्त्री साने ताकाइचीले घरायसी कामसमेत गर्नुपर्दा आफ्ना पुरुष पूर्ववर्तीहरूको तुलनामा दैनिक तीनदेखि चार घण्टा बढी समय खर्च हुने बताउनुभएको छ । जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले बुधबार संसद्मा बिहान नुहाउने, खाजा बनाउने, भाँडा माझ्ने र शृङ्गार गर्नेजस्ता कामले आफ्नो समय व्यस्त हुने बताउनुभयो ।
काममा अत्यधिक समय दिने उहाँ रातमा दुईदेखि चार घण्टा मात्र सुत्ने र कहिलेकाहीँ बिहान ३ बजे नै कर्मचारी बैठक राख्ने गर्नुहुन्छ ।
जापानमा राजनीतिमा महिलाको प्रतिनिधित्व न्यून छ । गत फेब्रुअरीमा भएको तल्लो सदनको निर्वाचनमा ४६५ मध्ये ६८ सिटमा मात्र महिला निर्वाचित भएका थिए ।
ताकाइचीको समय व्यवस्थापनबारे चर्चा भइरहेका बेला सत्तारूढ गठबन्धनका सांसदले प्रधानमन्त्रीले संसद्मा लामो समय बिताउनुपर्ने अवस्थाबारे प्रश्न गर्नुभएको थियो । जापान इनोभेसन पार्टीका सांसद फुमिताके फुजिताका अनुसार सन् २०२२ मा जापानका प्रधानमन्त्रीले ७२ दिन संसदीय सत्रमा भाग लिएका थिए भने बेलायत र जर्मनीका प्रधानमन्त्रीले क्रमशः ५० र १३ दिन बिताएका थिए । उहाँले जापानी प्रधानमन्त्री लामो समय संसद्मा सीमित हुनुपर्ने अवस्था अन्तर्राष्ट्रिय अभ्यासअनुरूप नभएको बताउनुभयो ।
ताकाइचीले संसदीय प्रश्नसँग सम्बन्धित कागजात घरमा ल्याएर बिहानसम्म काम गर्ने गरेको बताउनुभएको छ । “घरमा ल्याएका कागजातका थुप्रा मध्यरातमा पढ्न मलाई रमाइलो लाग्छ”, उहाँले बुधबार भन्नुभयो । तर देशको भविष्य र आफ्नो विस्तृत दृष्टिकोणबारे स्पष्ट मनले सोच्न समय निकाल्न कठिन भइरहेको उहाँले बताउनुभयो ।