भदौ ३०, २०८० शनिबार

इस्लामाबाद, ३० भदौ: डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका केही कर्मचारीले तलब पाएका छैनन् । 

पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको द न्यूज इन्टरनेशनल अखबारले जनाएको छ । 

पाकिस्तानी अङ्ग्रेजी दैनिक द न्यूज इन्टरनेशनलका अनुसार अमेरिका, हङकङ र सिङ्गापुरमा खटिएका प्रेस सहचारी र काउन्सिलरहरूले गत जुन महिनादेखि तलब पाएका छैनन् । 

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सीमा समाप्त भइसकेको बताएको छ । त्यसैले चालु महिनाको पनि तलब निकासा सकेको छैन । डलर अभावले वासिङ्टन, हङकङ र सिङ्गापुरजस्ता  अत्याधिक महँगो शहरमा काम गर्ने कूटनीतिक अधिकारीहरूलाई चार महिनासम्म तलबबिना आफ्नो एवं परिवारको भरणपोषणमा कठिनाइ भएको छ । 

वास्तविक आवश्यकताअनुरूप विदेशी मुद्राको हिसाबमा सूचना मन्त्रालयले  रकम नछुट्याउँदा यो समस्या उत्पन्न भएको बताइएको छ ।  गत आर्थिक वर्षमा पनि यस्तै प्रकृतिकको समस्या उत्पन्न भएको थियो तर तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समितिमा कर्मचारीका लागि  पूरक अनुदानमार्फत तलब व्यवस्था गर्न निर्देशन दिएका थिए ।

केही कूटनीतिक कर्मचारीले अर्थव्यवस्थापनको मानसिक तनाव पनि खेप्नु परेको छ किनकी उनीहरूका सन्तान अध्ययनरत विद्यालय एवं शैक्षिक प्रतिष्ठानले समयमा शुल्क नबुझाएमा उनीहरूलाई परीक्षामा सामेल हुन नदिने चेतावनी दिएका द न्युज इन्टरनेशनलको समाचारमा उल्लेख छ ।