फागुन १६, २०७७ आइतबार

तस्बिर - एन्फा

काठमाडौं : सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आइतबार भएको दुई खेलमा ब्वाइज युनियन र खुमलटार युथ क्लबले जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पहिलो खेलमा ब्वाइजले नयाँबस्तीमाथि ३-० गोलको जित निकालेको हो । ब्वाइजको जितमा मिलान लिम्बूले ह्याट्रिक पूरा गरे ।

उक्त जितसंगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ । ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ । पराजित नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै अर्को खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । खुमलटारलाई जित दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।

उक्त जितसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ । खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ । यता पराजित झम्सिखेल ८ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।