असोज २, २०८० मंगलबार

राँझा (बाँके), २ असोज : आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख जाति कुशबडियाको पुर्ख्याैली पेसा लोप हुँदै गएको छ । सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने उक्त समुदायको पुर्ख्याैली पेसा अहिले सङ्कटमा पर्दै गएको हो । 

    “हाम्रो पुर्ख्याैली पेसा सिलौटा, जाँतो र सनडोरीको व्यापार हो तर अहिले बिक्री नै हुँदैन”, जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित कुशबडिया बस्तीका अगुवा पटवारी कुशबडियाले भन्नुभयो, “अहिले घर–घरमा मिक्सर  चलाउने भएकाले  सिलौटा र जाँतो कसैले पनि किन्दैनन् ।”

    दिनभरि सिलौटा, जाँतो र डोरी बेचेर आएको आम्दानीबाट साँझ बिहानको छाक टार्नै मुस्किल पर्ने भएपछि अहिले नयाँ पुस्ताले पुर्ख्याैली पेसा गर्न छोड्दै गएकाले आधुनिकतासँगै आफूहरुको पेसा सङ्कटमा परेको उहाँको गुनासो थियो ।

    “जाँतोको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्सचर लिन थाले, सनपाटका डोरी छोडेर प्लास्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैनन्”, पटवारीले भन्नुभयो, “अब सिलौटा, जाँतो र सनपाटको डोरी बिक्री गरेर जीविकोपार्जन हुन सक्दैन, मेसिन र मिक्सचरले हाम्रो पेसा बन्द हुँदै गएको छ ।”

     सिलौटा र जाँतो बनाउने ढुङ्गा नेपालमा नपाइने भएकाले भारतको बहराइचबाट किनेर पर्छ । त्यस ढुङ्गालाई काँटछाँट गरेर उनीहरुले मेहनतका साथ कलात्मक बनाएर बिक्रीका लागि गाउँ–गाउँ पुग्ने गरे पनि  बिक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुङ्गाको भारु  एक सय ५० पर्ने  र बनाइसकेपछि रु चार÷पाँच सयमा बिक्री गर्न पनि समस्या भएको अगुवा पट्वारीले बताउनुभयो ।

    “बिहान हुनेबित्तिकै सिलौटा पिटाउने भन्दै, गाउँभरि डुल्नुपर्छ”, कुशबडिया बस्तीकी मीना कुशबडियाले भन्नुभयो, “हिजोआज सिलौटा र जाँतो बिक्री हुँदैन, सबैले मसला पिस्ने मिक्सचर छ भन्छन्, रित्तो हात फर्कनुपर्छ ।”

    कुशबडिया समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर बिक्री गर्ने र महिलाहरु घरघरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गर्दछन् । दिनभरि डुलेर एकदुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाएबापत पाउने चामल र दालबाट छाक टार्ने पनि मुस्किल भएको उहाँको भनाइ थियो। 

    पुर्ख्याैली पेसा सङ्कटमा पर्दै गएपछि अहिले उनीहरु सामाजिक सुरक्षा भत्ताबाट जीविकोपार्जन गर्दै आएका छन् । जनजाति भित्रको लोपोउन्मुख जाति मानिने कुशबडिया÷पथरकट्टा समुदायका प्रत्येक सदस्यले नेपाल सरकारबाट प्रतिमहिना रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । 

    बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र  नेपालगञ्ज–२० गायत्रीनगरमा कुशबडिया समुदाय बस्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार कुशबडिया÷पत्थरकट्टा समुदायको जनसङ्ख्या तीन हजार तीन सय ४३ रहेको छ ।