जेठ ३०, २०७८ आइतबार

साताको पहिलो दिन आइतबार सेयर कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ । आज कुल १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै नेप्से परिसूचक ३ हजार नजिक पुगेको छ । परिसूचक ३८ अङ्कले बढेर २ हजार ९८३ मा कायम भएको छ ।

यो अङ्क अहिलेसम्मकै उच्च हो। विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत कम्पनीका लगानीकर्ताले यस दिन धेरै मूल्य कमाएका छन्। समूहगत रूपमा हेर्दा बैंकिङ ८, होटल तथा पर्यटन १६७, विकास बैंक ३८८, जलविद्युत १८६, फाइनान्स १७३ र उत्पादन ६० अंकले बढेको छ। ब्यापार ४३, निर्जीवन बीमा २२, अन्य ८, माइक्रोफाइनान्स १७ र जीवन बीमा समूह १४७ अङ्कले घटेका छन्।

३ दर्जनभन्दा धेरै कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ। यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो।त्यस्तै मितेरी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, हिमालय पावर पार्टनर, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, नेसनल हाइड्रो, सिइडिबी हाइड्रो, माउन्टेन इनर्जी, लुम्बिनी विकास, एक्सल डेभलपमेन्ट, जोशी हाइड्रो, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, सोल्टी होटल, ओरेन्टल होटल, शिवश्री हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, जानाकी फाइनान्स, ङादी ग्रुप, युनियन हाइड्रो, दिव्यश्वरी हाइड्रोको मूल्य ९.८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

रैराङ हाइड्रो, लिबर्टी इनर्जी, मल्टिपर्पोज फाइनान्स, तारागाउँ रिजेन्सी, हिमाल दोलखा हाइड्रो, ज्योति विकास र कामना सेवा विकास बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो। गुमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहे। सो कम्पनीको मूल्य ४ प्रतिशतले घट्यो। कारोबारका आधारमा यस दिन नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो।

सो कम्पनीको ५४ करोडको कारोबार हुँदा पुनर्बीमा कम्पनीको ५३ करोड तथा ज्योति विकासको ४४ करोडको कारोबार भयो। यसैबीच सेयर खरिद कारोबारमा एकमुष्ट रुपमा सेयर खरिद आदेशको व्यवस्था (अल अर नन) आजबाट हटाइएको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएसँगै आजैदेखि कार्यान्वयन हुनेगरी यो व्यवस्था हटाइएको हो।