एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एथ्लेटिको मड्रिडले भिल्लारियलमाथि सहज जित निकालेको छ ।
सोमबार विहान सम्पन्न खेलमा भिल्लारियलको मैदानमा एथ्लेटिकोले २-० गोलको जित निकालेको हो ।
पाहुना टोली एथ्लेटिकोको जितमा जाओ फेलिक्सले एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । जारी खेलको २५औँ मिनेटमा भिल्लारियलका अल्फोन्सो पेड्राजाले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिकोले अग्रता बनाएको थियो ।
पहिलो हाफमा उपहार गोलबाट अग्रता बनाएको मड्रिडले दोस्रो हाफको ६९औँ मिनेटमा जाओ फेलिक्सले गोल गर्दै एथ्लेटिकोलाई २-० गोलको जित दिलाए ।
उक्त जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले २४ खेलमा ५८ अंक जोडेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अंकले अगाडि छ । एथ्लेटिकोभन्दा बार्सिलोनाले एक खेल बढी खेलेको छ ।
यता पराजित भिल्लारियल भने २५ खेलबाट ३७ अंकका साथ सातौँ स्थानमा छ ।