असार १, २०७८ मंगलबार

नेप्से परिसूचक मङ्गलवार ९आज० ३ दशमलव ७२ अङ्कले घटेको छ । परिसूचक घटेर ३ हजार २२ दशमलव १० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, म्युचल फन्ड र लगानी समूहबाहेक अरू समूहको परिसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४ दशमलव ४२ अर्थात् दुई सय २२ दशमलव ८९ अङ्कले घटेको छ ।

यस्तै आज १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको तीन करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आज सीईडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य भने साढे ७ प्रतिशतले घटेको छ ।