अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार बिहान गाजामा विस्फोटका ठूला आवाज सुनिएको छ । आईडीएफले इजरायली लडाकु विमानले खान युनुस र गाजा सहरमा हमास विद्रोहीको अड्डामा आक्रमण गरेको बताएको छ । आईडीएफले वक्तव्य जारी गर्दै भनेको छ, ‘यी क्षेत्रमा आतंकवादी गतिविधि चलिरहेको थियो । गाजा पट्टिमा जारी आतंकवादी क्रियाकलापलाई मध्यनजर गर्दै आईडीएफ युद्धसमेत सुरु गर्नका लागि तयारी अवस्थामा रहेको छ ।’ मे २१ मा दुई पक्षबीच युद्धविराम भएपछि पहिलो पटक इजरायल र हमासबीच ठूलो रुपमा संघर्ष चर्किएको हो । पछिल्लो संघर्षमा के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । त्यस्तै इजरायलमा नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार बनेपछि गाजामा आक्रमण भएको पहिलो घटना हो ।
यसअघि मे महिनामा ११ दिनसम्म चलेको संघर्षका कारण कम्तीमा २६८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश प्यालेस्टिनी नागरिक थिए । उक्त संघर्षमा ६६ बालबालिकासहित २५६ जना प्यालेस्टिनी र १२ इजरायलीको मृत्यु भएको थियो । हमासले पठाएको बेलुनका कारण इजरायली भूमिमा लागेको आगो । मंगलबार यहुदी राष्ट्रवादी समूहले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलममा एउटा जुलुस निकालेका थिए । सन् १९६७ मा सहरमाथि कब्जा गरेको वर्षगाँठ पुगेको भन्दै उक्त समूहले ‘मार्च अफ द फ्ल्याग्स’ नाम दिइएको जुलुस निकालेका थिए । हमासले भने उक्त जुलुस रोक्न चेतावनी दिँदै आएको थियो । जुलुसमा सहभागीहरुले प्यालेस्टाइनविरोधी नारा लगाएका थिए ।
अल जजिराका अनुसार इजरायली प्रहरीले पुरानो सहरको दमास्कस गेटबाट दर्जनौं प्यालेस्टिनी नागरिकलाई बलजफ्ती हटाएको थियो । इजरायली प्रहरीले कम्तीमा १७ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको र धरपकडबाट कम्तीमा ३३ जना घाइते भएको अलजजिराले उल्लेख गरेको छ । सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।