एजेन्सी : पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आबद्ध लाहोर कलन्दर्सले कराँची किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कराँचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनाएको थियो । कुनै समय ३७ रनमा तीन विकेट गुमाएको कराँचीका लागि बाबर आजम ५ , जोए क्लार्क ४ रन तथा कोलिन इन्ग्राम खाता नखोली आउट भएका थिए।
चौथो विकेटको लागि ओपनर शर्जिल खानले मोहम्मद नाबीसंग ७६ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । शर्जिल खानले ३९ बलमा ६४ रन तथा मोहम्मद नाबीले ३५ बलमा ५७ रनको योगदान गरे । यस्तै डेनियल क्रिस्टियनले २७ रन बनाए।
बलिङमा शाहिनशा अफ्रिदीले ३ तथा हरिश रौफ, एहमद ड्यानियल, डेभिड वेस र समित पटेलले समान १-१ विकेट लिए ।
एक सय ८७ रनको लक्ष्य लाहोरले ४ बल बाँकी हुँदा पुरा गर्यो। लाहोरले पनि सुरुवात राम्राे गर्न सकेन । ३३ रनमा तीन विकेट गुमाएको लाहोरका लागि चौथो विकेटका रुपमा फखर जमान र बेन डंकले शतकीय साझेदारी गरे ।
उसका ओपनर सोहेल अख्तर र जो डेनील पहिलो ओभरमा आउट भए भने मोहम्मद हफिजले १५ रन बनाए। तर जमानले ५४ बलमा ८३ रन बनाए भने बेन डंकले अविजित ५७ रनको योगदान गरे ।
लाहोरका लागि डेभिड भिजाले ९ बलमा ३१ रन बनाए । कराचीको बलिङमा मोहम्मद आमिर, वाकस मक्सुद र ड्यानियल क्रिस्टिएनले समान १ विकेट लिए।
जितपछि ४ खेलमा ३ जित र १ हार ब्यहोरेको लाहोर ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा छ । समान अंक रहेता पनि पेशावर नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ।