कञ्चनपुर- पूर्वपश्चिम राजमार्गको वाणी बजारबाट उत्तरतिर करिब आधा घण्टा यात्रा गरेपछि सुन्दरीफाँटा गाउँ पुगिन्छ । कृष्णपुर नगरपालिका वडा नं-१ सुन्दरीफाँटामा अन्य समुदायहरूको मिश्रित बस्ती भए तापनि थारू समुदायको बाहुल्यता रहेको छ ।
बस्तीमा प्रवेश गर्नेबित्तिकै दुईतीन घरपछि एउटा चिटिक्क परेको घर देखिन्छ । वरिपरि बारी, खेतमा बोरिङ अनि बीचमा सानो घर । त्यो घर सुन्दरीफाँटाका अग्रणी कृषक किरन चौधरीको हो ।
किरनको परिवार पहिलादेखि कृषिमा नै आश्रित थियो; जब उनी सानै थिए, त्यतिबेलादेखि नै परिवारका सदस्यले कृषि कर्म गर्दै आइरहेका थिए । तर त्यतिबेला खानका लागि मात्र कृषि गरिन्थ्यो । सात जनाको उनको परिवारले आफूलाई खान र आफन्तलाई कोसेली दिन मात्रै प्रायः तरकारी लगाउने गरेकामा हाल अहोरात्र व्यावसायिक रूपमै साग तरकारी लगाउनमा व्यस्त हुन्छन् ।
अहिले किरनको बारीमा लौका, फर्सी, करेला, काँक्रो, भिण्डी र आलु लटरम्म फलेका छन् । "अब बिस्तारै ती तरकारी बेच्ने बेला हुँदै छ" किरन भन्छन् । उनले हाल डेढ विघाभन्दा बढी जमीनमा तरकारी लगाएका छन् । सबै खेत उनको आफ्नै हो, भाडामा लिएका छैनन् । पोहोरसाल मात्र उनले तरकारी बेचेरै ८ लाख बढी आम्दानी गरेका छन् । तरकारी खेतीबाट मात्रै उनको यो आम्दानी हो । अन्य पेशा र व्यवशायबाट थप आम्दानी गरिरहेका छन् । खेतीबाटै मासिक ३०-३५ हजार मज्जाले कमाउन सकिने उनी बताउँछन् । "मासिक बढीमा २५ हजार जति खर्च होला । किरन भन्छन् "अरू सबै बचत नै हुने हो ।" उत्पादित तरकारी उनले पहिलापहिला स्थानीय बजार झलारी, वनसमिती, वाणी र कलुवापुरमा बिक्री गरेको बताए । उत्पादन बढ्दै गएपछि धनगढी र महेन्द्रनगरबाट जीप मगाएरै त्यहाँको बजारमा खपत गराए । स्थानीय बजारमा बेच्न सजिलो भए तापनि मूल्य कम हुन्छ, तर बाहिरको बजारमा बिक्री गर्दा ढुवानीलगायतमा समस्या हुने भए पनि राम्रो मूल्यमा बिक्री हुने गरेको किरनको अनुभव छ । उनले काम गर्ने नवकिरण बचत तथा ऋण सहकारीमार्फत सञ्चालित किसान परियोजनाले तरकारी खेतीमा सहयोग गरेपछि किरनको परिवार खेतीप्रति अझ आकर्षित भएको हो । परियोजनामार्फत कृषि सामग्रीहरू उपलब्ध भएपछि काममा सहजता ल्यायो । परामर्शका लागि उनी आफैं छँदै थिए । त्यसले उनलाई झन् सजिलो बनायो ।
अघिल्लो वर्ष कोरोनाका कारण बन्दाबन्दी भएपछि उत्पादित तरकारी बेच्न धौधौ भएको बताउँदै किरन भन्छन्, "स्थानीय सरकारले उत्पादित तरकारी सङ्कलन गर्न चासो देखाएर कृषकमैत्री भइदिने हो भने कृषकहरूलाई पर्याप्त लाभ हुनेथियो ।"
किरन पेशाले कृषि जेटिए हुन् । झलारीस्थित नवकिरण बचत तथा ऋण सहकारीमा कृषि प्राविधिकका रूपमा काम गर्छन् । उनले स्थानीय बजार कलुवापुरमा एग्रोभेट पनि सञ्चालन गरेका छन् । घरका सबै सदस्यहरूलाई उनले कामको बाँडफाँड गरेका छन् । श्रीमतीले दिउँसो पसल सम्हाल्छिन् । घरका अन्य सदस्यहरू खेतमै हुन्छन् । बिहान श्रीमान् र श्रीमती सँगै पसलमा आउँछन् । त्यसपछि उनी आफ्नो काममा जान्छन् । दिनभरि अफिसको काम, साँझबिहान कृषि; सबै उनी सम्हाल्छन् । परिवारका सदस्यले साथ दिएर निकै व्यस्त जीवनशैली पनि सहज बनाउन सकिने किरन बताउँछन् । मान्छेहरू 'यहाँ केही छैन' भनेर विदेश पलायन भएको देखेर दु:ख लाग्ने किरन बताउँछन् । इमानदार र लगनशील भएर गर्ने हो भने नेपालमै धेरै छ, गर्दै जाने हो पक्कै पनि सफल भइन्छ । उनले कृषिबाटै सम्पत्ति पनि जोडेका छन् । आवतजावतमा सहजताका लागि मोटसाइकल छ उनीसँग । अब उत्पादित तरकारी बिक्री गर्ने सानो सवारी साधन पनि खरिद गर्ने उनले योजना बनाएका छन् ।
"सिजनमा पनि लगाइन्छ, बेमौसमी तरकारी लगाउँदा अधिक् मुनाफा आर्जन गर्न सकिने भएकाले बेमौसमी तरकारी नै ज्यादा गर्ने गरेका छौँ" किरनले नेपाल मार्गसँग भने, "अपसिजनमा तरकारी उत्पादन गर्दा राम्रो बजार मूल्य पाइन्छ । कामदारहरूको ज्याला त उही नै हुन्छ । त्यसकारण उही ज्यालामा काम गराएर उत्पादित वस्तुको मूल्य अरूबेलाभन्दा बढी पाउँदा नाफा पनि बढी पाउन सकिन्छ" । अहिले ३० वर्ष पुगेका किरन अझै अरू थप खेती गर्ने तयारीमा छन् । उनी एक कृषक, व्यावसायी र जागिरे हुन् । उनी तरकारी खेती गरेरै आफ्नो दैनिकी कुशल तवरले सञ्चालन गर्न सकेकामा सन्तुष्ट भएको बताउँछन् ।