नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी तथा पदाधिकारीले कोरोना भाइरसविरद्धको खोप लगाएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार आज बिहीबार राष्ट्रिय टोलीका खेलाडी तथा पदाधिकारीले ललितपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा कोभिडविरुद्धको पहिलो डोजको खोप लगाएका हुन् । खोप लगाएपछि राष्ट्रिय टोलीका खेलाडी घर फर्किन थालेको एन्फाले जनाएको छ । 
राट्रिय टोली आइतबार कुवेतबाट नेपाल फर्किएको हो । मैत्रीपूर्ण खेलका लागि इराक पुगेको टोली विश्वकप छनोट खेलका लागि कुवेत प्रस्थान गरेको थियो । मैत्रीपूर्ण खेलमा हार ब्यहोरेको नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेइसँग जित निकालेको थियो ।
यस्तै विश्वकप छनोटअन्तर्गत जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो । चौथो स्थानमा रहेर छनोट चरणको खेल सकेको नेपाल एफसी एसियन कप छनोटको तेस्रो चरण्मा प्रवेश गरेको छ । 