असार ३, २०७८ बिहिबार

फाइल तस्बिर

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले देशभर जारी निषेधाज्ञाको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ । एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागू गरिने सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

असार ७ गतेसम्मको कोरोना सङ्क्रमणको अवस्था अध्ययन गरेपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिने बताइएको छ । स्वास्थ्य मापदण्डमा कडाइ गरी चरणबद्ध रूपमा लकडाउन खुकुलो बनाउँदै लगिने छ

गएको वैशाख १३ गते बाँकेबाट सुरु भएको निषेधाज्ञा अहिले देशभर जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ । कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ । अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ । अहिले जारी निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरू खुलाउन दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन । स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरू खोल्न दिइने सरकारले योजना बनाएको छ । यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइनेछ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सङ्क्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापदण्डमा कडाइ गर्दै चरणबद्ध रूपमा जनजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो ।