हरिद्वारस्थित कुम्भ मेलामा सहभागी एक लाखभन्दा धेरै जनाको कोरोना परीक्षणको रिपोर्ट नक्कली पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । दुई निजी प्रयोगशालाले दिएको अप्रिल १-३० तारिखसम्मको कोरोना परीक्षणको रिपोर्ट मध्ये एक लाखभन्दा धेरै नक्कली पाइएको हो ।
कोरोना रिपोर्टमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख गरेको पाइएको छ । एकातिर यसबाट ठूलो आर्थिक अनियमितता भएको सङ्केत पाइएको छ भने नक्कली रिपोर्ट दिएका कारण कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने पनि देखिएको छ ।
कुम्भमेलाका क्रममा हरिद्वारमा ठूलो सङ्ख्याका श्रद्धालुको कोरोना परीक्षणको सङ्क्रमण पुष्टि हुने दर अन्य जिल्लाको तुलनामा निकै कम बताइएको थियो । यस विषयमा अहिले नैनीतालको उच्च अदालतमा याचिका दर्ता गरिएको छ र यस विषयमा अनुसन्धानको माग गरिएको छ ।
उत्तराखण्डको सरकारले पनि प्रहरीलाई यस विषयमा अनुसन्धानका लागि निर्देशन दिएको छ । कुम्भमेलामा आएर फर्किएका मानिसबाट भारतभर कोरोना सङ्क्रमण फैलिएको विभिन्न प्रतिवेदनहरूले पनि देखाएका थिए ।
कुम्भमेलामा सहभागी मानिसहरूले मास्क लगाउने, भौतिक दूरी पालना गर्नेजस्ता जनस्वास्थ्यका नियम पालना गरेका थिएनन् । जसका कारण उक्त मेलामा सहभागी हुने मानिसहरूमा सङ्क्रमण अत्यधिक देखिएको थियो । कुम्भमेलामा सहभागी हुने मानिसको कोरोना परीक्षणका लागि हरियाणा र दिल्लीका निजी प्रयोगशालालाई दिइएको थियो ।