असार ३, २०७८ बिहिबार

भारतमा कुल जनसङ्ख्याको १६.२ प्रतिशतले खोप लगाएका छन् । त्यहाँको जनसङ्ख्याको २६ करोड ५५ लाख १९ हजार २५१ जनाले कोरोनाको कम्तीमा एक डोज खोप लगाएका छन् ।
दुवै खोप लगाएको जनसङ्ख्या भने कूल जनसंख्याको ३.७ प्रतिशत मात्र हो ।

भारत आफैंले कोरोनाविरुद्धको खोप बनाएको छ । त्यसैगरी विभिन्न देशबाट खोप अनुदानमा लिनुका साथै किनेर पनि जनतालाई लगाइरहेको छ । भारतमा अहिलेसम्म २ करोड ९७ लाख मानिस कोरोना सङ्क्रमित भइसकेका छन् । बुधबारमात्रै ६७ हजार २८९ जना सङ्क्रमित थपिएका थिए ।

 त्यस्तै १ लाख ३ हजार ९०० सङ्क्रमित बुधबार निको भएसँगै अहिलेसम्म २ करोड ८४ लाख ८४ हजार ५९१ जनालाई निको भइसकेको छ । हाल ८ लाख २१ हजार ३७८ जना मात्र सक्रिय सङ्क्रमित छन् । जबकि यो सङ्ख्या कुनै समय ४० लाखमा पुगेको थियो ।

मृतकको दर भने भारतमा घट्न सकेको छैन । बुधबार २ हजार ३२९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट भारतमा ३ लाख ८१ हजार ९३१ जनाको ज्यान गइसकेको छ ।