सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
त्यस्तै सेवाग्राहीले चाहेका खण्डमा ऐच्छिक रूपमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने उनले बताए । यसका लागि नम्बर प्लेट छाप्ने जिम्मेवारी पाएको डेकाटुर टाइगर कम्पनीले पनि आवश्यकताअनुसार प्लेट छाप्नसक्ने बताएकाे घिमिरेले जनाए ।
‘साउनदेखि सेवाग्राहीले विभागमा फारम भरेपछि बल्ल दर्ता र नवीकरण गर्न पाउँछन् । सेवाग्राहीले प्रदेश कार्यालयमा गएर नम्बर प्लेट फिट गर्न सक्छन्’, उनले भने, ‘नम्बर प्लेट फिट गर्ने र डाटा इन्ट्री गर्ने जनशक्ति पनि कार्यालयहरूलाई हामी नै व्यवस्था गर्दिन्छौँ । कार्यालयले भेरिफिकेसन मात्र गर्ने हो ।’
सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट राख्नलाई केही महँगो भने पर्ने छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेको दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीलाई २ हजार ९ सय, चार पाङ्ग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने विभागले जनाएको छ ।
५ भदाै २०७४ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट उद्घाटन गरेका थिए । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली भाषामा नभएकोलगायत कारण देखाउँदै अधिवक्ता भरत बस्नेत र राजन बुर्लाकोटीले सर्वोच्चमा रिट दायर गराएका थिए ।