एजेन्सी । बेल्जियम १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० को नकआउटमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले डेनमार्कमाथि २–१ गोलको पुनरागमन जित निकादै अन्तिम १६ मा स्थान बनाएको हो ।
डेनमार्कको पार्कनमा भएको खेलमा पाहुना टोली बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुयनले समान एक–एक गोल गरे । डेनमार्कका युसुफ पलसनले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली डेनमार्कले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पलसनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । उक्त गोल सँगै डेनमार्कले पहिलो हाफभरि अग्रता बनायो । 
तर दोस्रो हाफको खेलको ५४औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए । उनले ७ मिनेट अघि मात्रै मैदान प्रवेश गरेका डी ब्रुयनको पासमा गोल गरेका थिए । त्यस्तै खेलको ७०औं मिनेटमा डी ब्रुयनले गोल गरेपछि बेल्जियले दोस्रो जित निकालेको हो ।
उक्त जितसँगै समूह ‘बी’को बेल्जियमले दोस्रो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । यता अङ्कविहीन डेनमार्क भने पुछारमा छ ।
यसअघि बेल्जियमले रसियालाई हराएको थियो भने डेनमार्क फिनल्यान्डसँग पराजित भएको थियो ।