भारतका प्रशिद्ध एथ्लेट मिल्खा सिंहको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भएका ट्रयाक एण्ड फिल्ड एथ्लेट सिंहको चण्डीगढ स्थित अस्पतालमा शुक्रबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसबाट संक्रमित भएपछि ९१ वर्षका मिल्खालाई चण्डीगड स्थित पीजीआईएमईआर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका प्रवक्ता अशोक कुमारका अनुसार मिल्खाको निधन राति साढे ११ बजे भएको हो।
उनलाई मे २० मा संक्रमण पुष्टि भएको थियो र जुन ३ मा आइसियूमा भर्ना गरिएको थियो। जुन १३ मा उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो तर कोभिड–१९ सम्बन्धी समस्याकै कारण उनलाई फेरि आइसियूमा राख्नु परेको थियो। पाँच दिन पहिले उनकी श्रीमती निर्मल मिल्खा सिंहको पनि कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो। फ्लाइङ्ग सिखका नामले विश्वविख्यात रहेका मिल्खा ४०० मिटरको दौडमा एसियालीसँगै कमनवेल्थमा पनि स्वर्णपदक जित्ने पहिलो र एक मात्र भारतीय हुन्।
सन् १९५८ मा भएको एसियाली खेलामा उनले २०० र ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए। यस्तै सन् १९६२ को जकार्ता एसियाली खेलमा ४०० मिटर र चार गुण ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए। सन् १९५८ मा भएको कार्डिफ कमवेल्थ गेममा मिल्खाले ४४० गग दौडमा स्वर्ण पदक जिते। तर उनले सबैभन्दा बढि ख्याती सन् १९६० को रोम ओलम्पिकमा कमाए। यो प्रतियोगितामा उनी ४०० मिटरको दौडमा कास्य पदकबाट निकै झिनो अन्तरले चुकेका थिए।
उनले ४०० मिटर दौड ४५।७३ सेकेण्डमा पूरा गरेका थिए, उनी जर्मनीका कार्ल कूफम्यानभन्दा एक सेकेण्डको सय भागको एक अंशबाट पछि परेका थिए। उनले कास्य पदक जित्न सकेनन्, तर उनले बनाएको राष्ट्रिय कीर्तिमान भने ४० वर्षसम्म कायम रह्यो। मिल्खाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन्।