एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।
मंगलबार बिहान सम्पन्न भएको खेलमा मड्रिड आफ्नै घरेलु मैदानमा रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सोसिडाडले सुरुवाती अग्रता बनाएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
उक्त दोस्रो हाफको खेलको ५५औँ मिनेटमा पोर्तुले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । खेल सकिन मात्र एक मिनेट बाँकी छँदा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सम्भावित हारबाट जोगाए ।
उक्त बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । उसले बार्सिलोनालाई उछिन्ने मौका भने पनि खेर फालेको छ ।
जारी सिजन रियलले २५ खेलमा ५३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनासँग समान ५३ अंक छ । रियल गोलअन्तरको आधारमा बार्सिलोनाभन्दा पछि परेको छ ।
यता सोसिडाड भने ४२ अंकका साथ पाँचौँ स्थानमा छ ।