फागुन १८, २०७७ मंगलबार

मल

काठमाडौं : नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत मल किने सँगै बंगलादेशबाट एक साताभित्रमा नेपालमा युरिया मल आइपुग्ने भएको छ । 

५० हजारमध्ये हाल २२ हजार पाँच सय मेट्रिक टन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ । कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३/४ दिनमा ब्यागिङको काम सकिएपछि करीब एक सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ ।

वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ । नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानीकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।