असार ८, २०७८ मंगलबार

काठमाडौं । १६औं संस्करणको युरोपेली च्याम्पियनसिप अन्तर्गत  नेदरल्यान्ड्सले समूह चरणको खेलमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।

सोमबार राति भएको समूह ‘सी’ को अन्तिम खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्‍यो ।

नेदरल्यान्ड्सलाई सानदार जित दिलाउनको लागि जर्जिनियो विज्नल्डमले २ गोल गरे भने मेम्फिस डिपाएले एक गोल थपे । नेदरल्यान्ड्सलले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको २४ औं मिनेटमा डिपाए गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनले डोनेल मालेनको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा जर्जिनियो विज्नल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले सहज जित निकाल्न सफल भयो । उनले खेलको ५१ र ५८ मिनेटमा गोल गरेका थिए ।

उक्त जितसँगै नेदरल्यान्ड्सले समूहमा ९ अंक जोड्यो । दोस्रो बनेको अस्ट्रियाले ६ अंक जोड्यो । नर्थ म्यासेडोनिया अंकविहीन हुदै समूह चरणबाट बाहिरियो ।