असार ८, २०७८ मंगलबार

काठमाडौं । १६औं संस्करणको युरोपेली च्याम्पियनसिपमा आफ्नो समूह चरणको अन्तिम खेलमा सानदार जित निकाल्दै डेनमार्क नकआउटका चरणमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न भएको खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम १६ मा प्रवेश गरेको हो ।

डनेमार्कलाई सानदार जित दिलाउनको लागि डाम्सगार्ड, पाउलसेन, क्रिस्टियनसन र मइहले समान १/१ गोल गरे । यता रसियाका जुवाले १ गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा डाम्सगार्ड गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । डेनमार्कको लागि पाउलसेनले ५९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ७०औं मिनेटमा जुवाले रसियाका लागि पेनाल्टीबाट गोल फर्काए।

त्यसपछि डेनमार्कका लागि क्रिस्टियनसनले ७९ मिनेट र मइहले ८२ मिनेटमा गोल गरेका थिए ।बेल्जियमले फिनल्यान्डलाई २-० ले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४-१ ले पराजित गर्दै नकआउट चरणको यात्रा पक्का भयो ।

यो समूहमा डेनमार्क, रसिया र फिनल्यान्डको समान ३-३ अंक रहेपनि तीन टोलीबीच नतिजामा डेनमार्क गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो । फिनल्यान्ड ३ अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नेछ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।