काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरे। सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपदको बेलामा आफूहरुले थोरै भए पनि सहयोग गरेको बताए। धेरै क्षति भएको भए पनि माया र आत्मियताको कुनै मूल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपत्तिमा काठमाडौँ महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताए।
पानी पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिन पनि आग्रह गरे। सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्यमन्त्री तामाङले विपतग्रस्त पालिकाहरुले विपद व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे। विगतमा विपत्तिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उनले यस विपत्तिमा भने सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिए।
देश विदेशबाट सहयोग गर्न चाहनेले सोही कोषमा जम्मा गर्न पनि उनले आह्वान गरे। उनले थप क्षति हुन नदिनका लागि पुर्ननिर्माणको काममा लाग्ने पनि बताए। मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानवीय क्षति कम भएको उल्लेख गरे। विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उनको भनाइ छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्यूनिकरणको लागि प्रयास गरिरहेको उनले बताए। सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पुर्याएको छ। विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ।