काठमाडौं : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण गरिएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दुधकोसीको किनारमा पर्ने घोपाटार पुग्ने करिब साँढे १० किलोमिटर सडक निर्माण गरिएको हो ।
दुधकोसी पारी ओखलढुंगातर्फ सडक बनिसकेको अवस्थामा बडहरेतर्फबाट पनि घोपाटार पुलसम्म पुग्ने सडक निर्माण गरिएको हो । घोपाटारसम्म पुर्याइएको सडकबाट ओर्लिएपछि पुरानो झोलुंगे पुलबाट दुधकोसी तरेर आ–आफ्नो गन्तव्यतर्फ यात्रा गर्न सकिने वातावरण बनेको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए ।
ओखलढुंगातर्फ दुधकोसीको किनारै किनार सोलु दुधकुण्ड जोड्ने सडक बनिसकेको अवस्थामा खोटाङतर्फबाट बडहरे–घोपाटार सडक विस्तार गरिएको हो । ८/९ लाखको तेल खरिद गरेर नगरपालिकाकै मेसिन प्रयोग गरेर सडक खनिएको हो । लामो समयदेखि झोलुंगे पुल सञ्चालनमा रहेको घोपाटारमा पक्की पुल निर्माण गर्न सके हलेसी तुवाचुङ नगरपालिकाबाट ओखलढुंगा, सोलुखुम्बु पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने वडाध्यक्ष बस्नेत बताउँछन् ।
ओखलढुंगामा रहेको सामुदायीक मिसन अस्पताल पुग्नका लागि हाल हलेसी–जयराम–हिलेपानी–ओखलढुंगा सडक प्रयोग भइरहेको अवस्थामा वडा कार्यालयले घोपाटारको छोटो बाटो खोल्ने प्रयत्न गरेको जनाएको छ । घोपाटारमा मोटरेबल पुल बनेको खण्डमा जयराम (ओखलढुंगातर्फ)बाट दुधकोसी किनार हुँदै घोपाटारबाट नदी तरेर हलेसी पुग्ने बाटो खुल्ने छ ।
बडहरे–घोपाटार सडक भविष्यमा हलेसी तुवाचुङ नगरपालिकाको तल्लो तटीय क्षेत्रमा निर्माण गरिने सडकसँग समेत जोडिने छ । अधिकांश भाग दुधकोसी र सुनकोसीले छेकिएको नगरपालिकाको तल्लो तटीय क्षेत्रमा नगर परिक्रमा गर्ने सडक निर्माणको योजना बनिरहेको जनाइएको छ ।
मंगलटारबाट पनि घोपाटार जोड्ने सडक बन्दै
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारबाट पनि घोपाटार जोड्ने सडक निर्माण सुरु गरिएको छ । नगरपालिकाको मेसिन र तेल प्रयोग गरेर मंगलटारको भदौरेबाट घोपाटार जोड्ने सडक निर्माण सुरु गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।
करिब १२ वर्षअघि सुरु गरिएको हलेसी–मंगलटार–घोपाटार र दुर्छिम–मंगलटार–घोपाटार सडकको परिकल्पना अनुसार वडा कार्यालयले मंगलटारबाट घोपाटार पुग्ने सडक विस्तार सुरु गरेको जनाएको छ ।
दशक अघि नै मंगलटार हुँदै घोपाटार पुग्ने सडक निर्माण गर्ने योजना बनेको भए पनि हालसम्म अधुरो रहेको थियो । मंगलटारबाटै सल्लेको महादेवबेँसी झर्ने सडक पनि निर्माण हुने वडाध्यक्ष राउतले बताए ।