काठमाडौ : आगामी चैत २६ गतेबाट विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करण आयोजना गरिने भएको छ । यसपटक उक्त प्रतियोगिता रात्रीकालीन खेलकुद गराउने गरी फ्लडलाइटको जडान भएपछि प्रतियोगिता हुन लागेको हो ।
आयोजक गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार ब्यस्त तालिकासँगै एन्फाको सहयोगमा चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा प्रतियोगिता हुनेछ ।
अध्यक्ष बानियाँले विगतको तुलनामा यसपटक सहभागी टोली, विजेता र उपविजेताले सर्वाधिक नगद पुरस्कार प्राप्त गर्ने बताए ।
प्रतियोगिताका लागि मैदान स्तरोन्नति कार्य, सहभागी टोलीलगायतका विषयमा कार्य सुरु भइसकेको छ ।
यसपटक उपाधि विजेता टोलीले नगद १५ लाख १५ हजार रुपैयाँ नगद र ट्रफी हात पार्ने जानकारी दिए । सम्भवतः मोफसलमा खप्तड गोल्डकपमा २१ लाख रुपैयाँ नगद पुरस्कारपछि सर्वाधिक पुरस्कार राख्ने विराट गोल्डकप दोस्रो हुनेछ ।
यसपटक उपविजेतामा सीमित हुने टोलीले सात लाख ५१ हजार रुपैयाँ हात पार्ने छन् । सात विधाका उत्कृष्ट खेलाडीलाई समान २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।