संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ । ५० प्रतिशतले नबढ्ने गरी यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीहरूलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए ।
तर, उडानका लागि खुला गरिएका गन्तव्यहरूको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्र प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ । सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।