असार १०, २०७८ बिहिबार

विपक्षी गठबन्धनका प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै बिहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै विरोध प्रर्दशन गरिने भएको हो ।

काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

उनीहरूले प्रधानमन्त्रीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपतिसमेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।